आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ।
भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रूद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो बैठकमा सीमा-नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आआफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ।
संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो।
भारतीय पक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डिएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टीसीलगायतका अधिकारीहरूको सहभागिता थियो।
स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन/तीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ।