जनमोर्चाको राजधानीकेन्द्रित आन्दोलन सुरु, संघीयता खारेजीको माग

Yangle News
Yangle News
२०८१ चैत्र २४ गते
जनमोर्चाको राजधानीकेन्द्रित आन्दोलन सुरु, संघीयता खारेजीको माग

राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै जनमोर्चाले आन्दोलन सुरु गरेको हो ।

आज काठमाडौंको शान्तिवाटिकामा सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनको सुरुवात गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए । २४० वर्षको राजतन्त्रमा जनताले दुख पाएको र देश विकास हुन नसकेको उनको भनाई छ ।

उनले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टि देखिएको बताए । केसीले गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारबाही भएको जिकिर गरे । उनले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने बताए ।

चैत्र ३० गतेसम्म हुने केन्द्रित आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शन सहितको सभा गर्ने जनमोर्चाको तयारी छ ।