‘जेनजी’ प्रदर्शनले देशको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुनपुग्यो ।
पर्यटकीय ‘सिजन’ को शुरूआती चरणमा भएको यो आन्दोलनले पर्यटन व्यवसायी पनि निराशजस्तै छन् । विस्तारै शान्तिपूर्ण अवस्था बन्दै गएपछि विषम परिस्थितिबाट गुज्रिएको यो क्षेत्रमा पुनः पुरानै लय फर्किने आशा पलाएको छ । यो क्षेत्र बिस्तारै पुनरूत्थानको दिशामा अघि बढ्ने यस क्षेत्रका व्यवसायीहरू आशावादी देखिन थालेका छन् । धेरैजसोले देशमा सुशासन, भष्ट्राचार नियन्त्रणलगायत मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनलाई चुनौतीसँगै अवसरका रूपमा पनि लिनुपर्ने आशावादी सन्देश दिन थालका छन् ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको देशको पर्यटन बिस्तारै पुरानै लयमा फर्किएजस्तो यो अवस्थाबाट पनि पार लाग्ने धेरैजसोको बुझाइ छ । ‘पछिल्लो विकसित परिस्थितिले पर्यटनलाई पुनः कमजोर बनायो, तर पनि पर्यटन क्षेत्रमा असीमित अवसर छन् । तिनलाई पछ्याउन सके आशाका किरणहरू चाँडै देखिने छन् । पर्यटनमा जेनजी प्रदर्शन असङ्गठित युवापुस्ताको परिवर्तनको उत्कट चाहना भएकाले यसले निम्त्याएको सङ्क्रमणलाई विगतका विपद्सँग तुलना गर्नुहुँदैन’, सरोकारवालाहरुको भनाई छ ।
अब पर्यटनलाई दिशाबोध गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयत्न गर्न जरूरी रहेको जानकारहरू बताउँछन् । यसका लागि सार्वजनिक निजी साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन पुनरूत्थानका लागि काम गर्न पर्यटक क्षेत्रका अगुवा संस्थाहरू सक्रिय भइसकेका छन् । नेपाल पर्यटन बोर्डको अगुवाइ र सक्रियतामा निजी क्षेत्रका पर्यटन व्यवसायीको छाता सङ्गठन, पर्यटनविद् एवं सरोकार भएकाहरूबीच पुनरुत्थानका विभिन्न उपायको खोजी शुरू भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, होटल सङ्घ नेपाल, नेपाल एशोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्न (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान), प्यासिफिक एशिया ट्राभल एशोशिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल एशोशिएसन अफ र्याफ्टिङ एजेन्टस् (नारा) लगायतका संस्थाले पर्यटन पुनरूत्थानका लागि पहल कदमी लिएकाले चाँडै यो क्षेत्रले लय समात्ने धेरैको बुझाइ छ । यी संस्थाको पहलमा चरणबद्ध छलफल गरी पर्यटनलाई पुरानै लयमा फर्काउने प्रयत्न भइरहेको पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली बताउँछन् ।
उनले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्धताका साथ लागेको र यसमा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश देश विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काममा जुटिसकेका छौं ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय हुनुपर्ने बताए । ‘विगतको अनुभवका आधारमा पर्यटन क्षेत्र चाँडै पुनरूत्थान हुनेछ । पर्यटनसँग आबद्ध अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुरानै लयमा फर्किनेछ,’ उनले भने । अन्य देश र विशेषगरी दक्षिण एशियाली मुलुक श्रीलङ्काले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरूत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने उनको विश्वास छ ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले विगतमा विपदमा पनि पर्यटन क्षेत्र चाँडो पुनरूत्थान भएको स्मरण गर्दै यसपटक पनि सबै मिलेर काम गरे चाँडै पुनरूत्थानको दिशामा अगाडि बढ्ने आशा व्यक्त गरे । उनले पर्यटनबाटै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रशस्त सम्भावना रहेको भन्दै अब नेपाल पर्यटकका लागि पूर्ण सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन जरूरी रहेको बताए ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बर १५ सम्म ३३ हजार ६ सय ३८ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अगष्टमा ८८ हजार छ सय ८० जना पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार पाँच सय ४८ जना पर्यटक नेपाल आएका थिए भने सन् २०२३ मा १० लाख १४ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डको अध्ययनअनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर २५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको छ । देशभर ३० भन्दा बढी होटल, रेस्टुरेन्ट, केबुलकार र एभिएसनमा आंशिक क्षति पुगेको छ । प्रभावित होटलहरू काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङको विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा रहेका छन् । यसले पर्यटन क्षेत्रमा करिब दुई हजार पाँच सय जना बेरोजगार बन्ने अवस्था आएको बोर्डको अनुमान छ ।