उच्च हिमाली क्षेत्रमा दिउँसोबाट हिमपात

Yangle News
Yangle News
२०८० माघ २ गते
उच्च हिमाली क्षेत्रमा दिउँसोबाट हिमपात

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिञ्चोक क्षेत्रमा हिमपात भएको हो ।
दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको स्थानीयले बताए । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिञ्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि आज हिमपात भएको छ ।
तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा निरन्तर हिमपात भएका कारण मन्दिर आसपासका पहाड र कुरी बजार सेताम्य भएको छ ।
हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा बढ्ने अपेक्षा स्थानीय व्यवसायीको छ । कालिञ्चोक क्षेत्रमा यो वर्षको पहिलो हिमपात हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको व्यवसायी बताउछन् ।
हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन । अघिल्ला वर्षहरुमा कालिञ्चोकमा परेको हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका थिए ।