नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित ७ नाल हतियार बरामद गरेको छ । उक्त हतियारका म्यागजिन, गोली, व्यानेट लगायतका एसेसरिजहरु तथा व्यक्तिगत सामग्रीहरू समेत बरामद भएको सेनाले जनाएको छ ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात् बुधबार विशेष सूचनाको आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियारसहित हालसम्म ७३ नाल हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रण गरिएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको हो ।
अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । प्रहरीका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् ।