रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

Yangle News
Yangle News
२०८१ चैत्र २२ गते
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो ।

उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा हुने आदेश दिएको थियो । तर, सोही मुदामा रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध जोशी उच्च अदालत गएपछि लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो । उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।