बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनालाई अदालतले मृत्युदण्ड दिने फैसला सुनाएको छ । उनलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै आज ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उक्त फैसला सुनाएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो । हसिना हत्या घटनाका मुख्य योजनाकार रहेको र उनले प्रदर्शनकारीमाथि बम खसाल्न आदेश दिएको अदालतको निश्कर्ष छ ।
हसीना मानवता विरुद्धका पाँचवटा अपराधमध्ये तीनवटामा दोषी ठहर भएकी हुन् । उनीमाथि विभिन्न पाँचवटा अभियोग थिए । जसमा हत्या रोक्न असफल हुनु, अमानवीय कार्य, विद्यार्थी प्रदर्शन दबाउन घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्न आदेश दिनु, बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या, चाँखारपुलमा ६ जना निहत्था प्रदर्शनकारीको हत्या, पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या र एकलाई जिउँदै जलाउनुसहित समावेश छन् । उनी हाल भारत निर्वासनमा छन् । अदालतको फैसला प्रत्यक्ष प्रसारण गरिएको थियो ।
अगष्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो । ७८ वर्षीया हसिनालाई भारतबाट फर्केर अदालतको सामना गर्न दिएको आदेश पनि उल्लंघन गरेको आरोप लागेको छ । सत्ताबाट हटाइएपछि उनी १५ महिनादेखि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।
उनीसँगै पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । उता पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल-मामुनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । उनले राज्यको तर्फबाट साक्षीको भूमिका निर्वाह गरेकालेलाई पाँच वर्षको मात्रै सजाय सुनाइएको हो । अदालतले हसिना र कमालका सबै सम्पत्ति राज्यको तर्फबाट जफत गर्ने आदेश पनि जारी गरेको छ । हिरासतमा रहेका मामुनले भने दोष स्वीकारेका छन् ।
हसिनाको मुद्दामा फैसला सुनाउनुअघि र पछि देशभर हिंसाका घटनाहरु भइरहेका छन् । सरकारले उच्च सतर्कता घोषणा गरेको छ । हिंसात्मक प्रदर्शन भए गोली चलाउने सरकारले सुरक्षाकर्मीलाई आदेश दिएको छ ।