अख्तियार प्रमुख राईविरुद्ध उजुरी

Yangle News
Yangle News
२०८२ साउन ११ गते
अख्तियार प्रमुख राईविरुद्ध उजुरी

अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । विशेष अदालतको हालै सार्वजनिक फैसलाको पूर्णपाठमा वाइडबडी खरिद प्रकरणमा राईको भूमिकामाथि प्रश्न उठाएको थियो ।

युवराज सफलले आइतबार अख्तियार प्रमुख राईमाथि नै छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन् । सफलको उजुरीमा ‘वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख राईलाई आवश्यक छानबिन गरी कारबाही गरी पाऊँ,’ भन्ने उल्लेख छ ।

अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिनअघि सार्वजनिक हुँदा अख्तियार प्रमुख राईले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै प्रश्न उठाएको थियो । ‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोपदाबी लिइएको देखिन आउँदैन । यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्नेजस्तो चयनमुखी दृष्टिकोण अबलम्बन गरिएको देखिन्छ,’ फैसलामा उल्लेख छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत मंसिर २० गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक हुँदा अख्तियार प्रमुख राईको भूमिकामा प्रश्न उठाइएको हो ।