६ वटा कम्युनिष्ट पार्टीहरूले संयुक्त संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालय, कुपोन्डोलमा शुक्रबार सम्पन्न संयुक्त बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो ।
विज्ञप्तिमा ६ क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ । साथै, उनीहरूले विद्यमान सरकारलाई जनविरोधी, अलोकतान्त्रिक र कठपुतली भन्दै सुशीला कार्की सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जन संविधानका लागि संयुक्त संघर्ष अघि बढाउने घोषणा गरेका छन् ।
संयुक्त वक्तव्यमा स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने चुनावलाई जनविरोधी ठहर गर्दै त्यस्तो चुनावको बहिष्कार गर्न आमजनतामा अपिल गरिएको छ । साथै, सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा र अग्रगामी राष्ट्रिय निकासका लागि देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई संयुक्त संघर्षको लहर सिर्जना गर्ने आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (जनपक्ष)का अध्यक्ष महेन्द्र मल्ल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल तथा समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजंग’को हस्ताक्षर छ ।
विज्ञप्ति :