कैलाली कारागार अझै कैदीबन्दीको नियन्त्रणमा

Yangle News
Yangle News
२०८२ साउन २५ गते
कैलाली कारागार अझै कैदीबन्दीको नियन्त्रणमा

कैलाली कारागारमा हिसांत्मक झडप भएको ३७ घण्टासम्म पनि प्रहरी प्रशासनका अधिकारी कैदीबन्दी कक्षमा प्रवेश गर्न सकेका छैनन् ।

कैदीबन्दीहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा सहितका स्थानीय प्रहरी अधिकारीहरुसँग छलफल नै नगर्ने अडान लिएका छन् । मानवअधिकार आयोग र गृह मन्त्रालयको उच्चस्तरीय टोली कैदीबन्दीसँग छलफलको लागि कारागारमा जाने भएको छ ।

सरकारले कारागार पूर्ण रुपमा नियन्त्रणमा आएको बताए पनि शुक्रबार साँझदेखि कारागार पूर्ण रुपमा कैदीबन्दीको नियन्त्रणमा रहेको छ । स्थानीय प्रशासन कारागारभित्र प्रवेश गर्न सकिरहेको छैन । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।

कैदीबन्दीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जानकारी दिइरहेको छ ।

शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले पर्खाल भत्काएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् । घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

साउन १४ मा कारागारमा रहेका ५ सय ९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए । सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए पनि त्यसलाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको आयोगको ठहर छ ।

घटनाबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ ।