अम्रिसो बन्यो किसानको आम्दानीको स्रोत

Yangle News
Yangle News
२०८० पुस ४ गते
अम्रिसो बन्यो किसानको आम्दानीको स्रोत

 

नवलपुरको पहाडी भेगका स्थानीयको अम्रिसो (कुचो) आम्दानीको बलियो स्रोत बनेको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रुपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ । प्रतिपरिवारलाई वर्षेनी तीन लाख रुपियाँसम्म कुचोले आम्दानी दिने गरेको छ । हरेक दुई बर्षमा काट्न सकिने भएकाले पनि कृषकले बर्षेनी फरक– फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार –४, देउरालीका मीनबहादुर आले बताउँछन् । उनले अम्रिसो बिक्री गरेर वार्षिक करिब ६० हजार आम्दानी गर्ने बताए ।

नवलपुरको पहाडी क्षेत्रमा पाखोबारी धेरै रहेकाले सिंचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले स्थानीयले अम्रिसो खेती गर्ने गरेका छन् ।

पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर राना बताउछन् । रानाका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ ।  विभिन्न चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आबद्ध भएर अम्रिसो खेती गर्दैआएका छन् । सामूहिक रुपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरेको रानाले बताए । प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने समय हो ।

गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष तीन करोड २६ लाख ३५ हजार ८५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ । त्यहाँ उत्पादित अम्रिसो भारत, बङ्गलादेशसम्म निर्यात हुने गरेको छ । यस बाहेक स्थानीय बजार कावासोती,  दलदले,  नारायणगढ,  बुटवलमा पनि नवलपुरको अम्रिसोको कुचो बिक्री हुने गरेको छ ।