यु-२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाई

Yangle News
Yangle News
२०८२ साउन १४ गते
यु-२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाई

एएफसी महिला यु-२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली ट‍ोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा टोलीको बिदाइ गरेको हो । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि यामप्रसाद गुरुङलाई नै दिइएको छ ।

उनको प्रशिक्षणमा नेपाली टोली साफ महिला यु-२० च्याम्पियनसिपको उपाधिनजिक पुगेर पराजित हुन पुगेको थियो । बंगलादेशको ढाकामा भएको प्रतियोगिताका दुवै खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेलमा ३-२ ले पराजित भएको नेपाल अन्तिम तथा उपाधि निर्णायक खेलमा ४-० ले पराजित हुन पुगेको थियो ।

उनले भुटान जाने टोलीमा साफ महिला यु-२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरेका छन् । नेपालले ६ खेल खेले पनि झुमा मैदान उत्रिन पाएकी थिइनन् । उनको स्थानमा गुरुङले सजिना स्याङ्तान टोलीमा समेटिएकी छन् ।

टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६-११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह ‘बी’मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन् ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु-२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।