नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

Yangle News
Yangle News
२०७९ पुस २८ गते
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुईहजार एक सय ४९ दशमलव ४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कुल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु. १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी रु. १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु. १४ करोड चार लाख ४५ हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलव ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलव १८, कालिका पावर कम्पनी आठ दशमलव ४८, बलेफी हाइड्रोपावर सात दशमलव ४४, स्वाभिमान लघुवित्त सात दशमलव ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलव ३० प्रतिशतले घटेको छ ।