बिमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल

Yangle News
Yangle News
२०८२ फाल्गुन १४ गते
बिमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिनुपर्ने बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आज नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ढकालले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

उनले बिमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन पनि बिमा प्राधिकरणसँग आग्रह गरे । नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरू अझै परम्परागत नीतिबाट सञ्चालन भइरहेका उनले उल्लेख गरे । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उनको भनाइ छ । ‘कतिपय हाम्रा नियमक निकायहरू नेपाल राष्ट्र बैंक, बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसाबले बनाइएको नीतिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसाबले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन । फाइनान्सियल रूपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यावसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ,’ उनले भने, ‘हामी क्षमताको हिसाबले सक्षम छौं भने नेपालमा मात्रै यसको दायर बनाउनपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसको नियमन राम्रो गर्नुपर्छ । यसले नेपालको अर्थतन्त्रमा नै योगदान हुने भएकोले सोहीअनुसार कानुन बनाउनुपर्छ ।‘

अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए । उनका अनुसार, बिमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यावसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ । उनले भने, ‘बिमा कम्पनीहरूलाई नियामक निकायले हेर्ने एउटै दृष्टिकोण छ, त्यस्तो हुनु हुँदैन । चाहे बिमा प्रवर्द्धकका सञ्चालन अवथा बैंक तथा वित्तीय संस्थाका सञ्चालन भनौं, यिनीहरू सबैले नाफा मात्रै खान खोज्छन्, यिनीहरूमा गलत मनसाय छ भन्ने देखिन्छ, त्यो कदापि होइन । कुनै एक जना व्यक्तिले बदमासी गर्‍यो भने त्यो एक व्यक्तिले गरेको व्यक्तिगत बदमासीलाई सही हिसाबले बढाउन लागेको व्यावसायिक संस्था वा उनीहरूले बढाउन लागेको गतिविधि छ, त्यसमा पनि लगेर जोडिदिने चलन छ । त्यो गलत छ । नेपालभन्दा बाहिर व्यवसायिक गतिविधि बढाउनको लागि पनि नीतिहरू परिवर्तन गरेर बिमा कम्पनीहरूलाई विदेशमा गतिविधि बढाउने वातावरण तयार पार्न आवश्यक छ । यसमा बिमा प्राधिकरण काम गर्नेछ भन्ने विश्वास पनि लिएको छु । आर्थिक गतिविधि बढाउन सकियो भने त्यसले रोजगारी सिर्जना गर्न, राजश्वमा वृद्धि गर्न ठूलो योगदान हुन्छ ।‘