कांग्रेस महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगन

Yangle News
Yangle News
२०८२ पुस १७ गते
कांग्रेस महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम सातादेखि हुने भनिएको नियमित १५औं महाधिवेशन स्थगित गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले आज विज्ञप्ति जारी गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको उल्लेख गरेका छन् ।

‘मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ । नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ । उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले अब विकल्पको रूपमा विशेष महाधिवेशन आएको बताएका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ । अत: पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

विशेष महाधिवेशन पक्षधरले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलनसमेत गर्ने भएको छ । पत्रकार सम्मेलनमा विशेष महाधिवेशनका विषयमा जानकारी दिइने जनाइएको छ । उनीहरूले विशेष महाधिवेशनका लागि भनेर भृकुटीमण्डपस्थित हल बुकिङ गरिसकेका छन् । पुस २६ र २७ गतेका लागि हल बुकिङ गरिएको बताइएको छ ।

यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । शुक्रबार (पुस १८) दिउँसो ३ बजे बीपी स्मृति भवनमा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विज्ञप्ति :

Yangle News