छैटौं टाइगर कप भलिबल : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

Yangle News
Yangle News
२०८२ माघ १६ गते
छैटौं टाइगर कप भलिबल : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । न्यू डायमण्डलेले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज सम्पन्न महिलातर्फको फाइनल खेलमा न्यु डायमण्डले पुलिसलाई २५-११, २५-२२ र २५-१६ ले हरायो । च्याम्पियन बनेको न्यु डायमण्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । न्यु डायमण्ड पहिलो पटक टाइगर कपमा च्याम्पियन बनेको हो ।

प्रतियोगितामा थाइल्यान्ड क्विन्स तेस्रो भएको छ । शुक्रबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै थाइल्यान्ड तेस्रो भएको हो । उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ ।

न्यु डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रगति नाथ उत्कृष्ट सेटर, सुनिता खत्री उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए। नेपाल पुलिस क्लबकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र थाइल्याण्ड क्विन्सकी पट्टिया जुआङ्गियन उत्कृष्ट स्पाइकर चुनिए । सुमित्राले २६ हजार ६ सय ६६ रुपैयाँ र अन्यले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फको फाइनल खेल भोलि हुनेछ । गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।