‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को नयाँ मिति घोषणा

Yangle News
Yangle News
२०८२ पुस १३ गते
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को नयाँ मिति घोषणा

जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । यसैगरी स्पोर्ट्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।

यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोननयमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ । यसैगरी, आइतबारदेखि नै पिपल्स च्वाइस अवार्डका लागि रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘‘विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहीँबाट भोटिङ प्रक्रिया फेरि सुरु हुनेछ ।’’ यस विधाको प्रतिस्पर्धा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्ट्स समिट हुनेछ । मञ्चका अध्यक्ष अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराए ।

गोल्छा ग्रुपसँगको मुख्य प्रायोजनमा पोखरा महानगरपालिकाले अवार्डमा सहकार्य गर्नेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको बताइएको छ । त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बाग्मती प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि पार्टनरका रूपमा रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।