सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य नेपाली बजारमा आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ पुगेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो । यसअघि गत जेठ २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सो दिन सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।