जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा बर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ ।
कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।
दिपावलीको अवसरमा देउसीभैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।
‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्गजस्ता स्थानमा आमसर्वसाधारणको आवागमनलाई बाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सवस्थल बनाउन पाइने छैन,’ सूचनामा भनिएको छ ।
चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाखो र सतर्क भई आआफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवं सुरक्षा एकाइमा खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।