नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ । दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो ।
दसैंतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।
दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो । सुकिला नोट सटहीसम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, ‘वि.सं. २०८२ को बडादशैंमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थालाई मिति २०८२/०५/२९ देखि २०८२/०६/१० गतेसम्म बैंकिङ कारोबार समयमा सुकिला बैंक नोट सटही गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
विगतका वर्षहरुमा दसैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको थियो । दसैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले गत वर्ष पनि नयाँ नोट वितरण गर्न बन्द गरेको थियो ।
बैंकद्वारा जारी सूचना: