राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट भएको हो ।
भेटमा समसामयिक राजनीतिक र राष्ट्रपतिले फिर्ता पठाएका संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा छलफल भएको बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रमाणीकरणका लागि गत ३१ असारमा राष्ट्रपतिसमक्ष पठाइएको थियो । तर राष्ट्रपति पौडेलले पुनर्विचारका लागि विधेयक उत्पत्ति भएकै सभामा फिर्ता पठाएका थिए ।
यस्तै भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराएको जनाइएको छ । प्रधानमन्त्री ओली भू-परिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री)मा सहभागी हुन आइतबार तुर्कमेनिस्तान जाँदैछन् ।