सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित

Yangle News
Yangle News
२०८३ बैशाख ३१ गते
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सभाको बिहीबार अबेरको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए ।

छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुले उठाएको प्रश्नहरुमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । वैशाख २८ गतेको संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेका थिए ।

उक्त नीति तथा कार्यक्रमको छलफल सुरु भएपछि विपक्षी दलले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै आएका थिए । तर बालेन सहभागी नभई अर्थमन्त्रीले नै उठेका प्रश्नहरूको जवाफ दिन थालेपछि कांग्रेसबाहेकका विपक्षी दलले बहिष्कार गरेका थिए ।

यद्यपि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दा हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।