एनसेलले हालसम्म साढे ३ खर्ब बढी बुझायो सरकारलाई राजस्व

Yangle News
Yangle News
२०८२ पुस ८ गते
एनसेलले हालसम्म साढे ३ खर्ब बढी बुझायो सरकारलाई राजस्व

निजी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अहिलेसम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ । एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्म राज्यलाई उक्त परिमाण बराबर कर बुझाएको हो ।

तथ्यांकअनुसार कम्पनीले सरकारलाई बुझाएको राजस्व रकम सरकारले एक आर्थिक वर्षमा विनियोजन गर्ने पुँजीगत बजेटभन्दा माथि हो । सरकारले गत आव पुँजीगत बजेट ३ खर्ब ५३ अर्ब विनियोजन गरेको थियो । एनसेलले गत आवसम्म ३ खर्ब ५७ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ कर बुझाएको तथ्यांक छ ।

एनसेलले गत आव मात्रै करिब १७ अर्ब रुपैयाँ कर बुझाएको छ । एनसेलका अनुसार गत आव जीएसएम लाइसेन्स नवीकरण शुल्कबापत २ अर्ब ८५ करोड रुपैयाँ बुझाएको छ । दूरसञ्चार सेवा शुल्कबापत २ अर्ब ८२ करोड १३ लाख ५ हजार ४ सय ५१ रुपैयाँ बुझाएको छ भने त्यस्तै स्वामित्व कर ६० करोड ८ लाख ९१ हजार तिरेको छ ।

त्यस्तै नेट भ्याट पेमेन्ट अन सेल्स ३ अर्ब ११ करोड ४९ लाख रुपैयाँ तिरेको छ । भन्सार शुल्क ५४ करोड ८६ लाख, टीडीएस ५५ करोड २५ लाख र एडभान्स ट्याक्स २ अर्ब १३ करोड रुपैयाँ बुझाएको तथ्यांक छ । यसैगरी रोयल्टी बापत १ अर्ब ३५ करोड रुपैयाँ बुझाएको छ । ग्रामीण दूरसञ्चार सेवा शुल्क ६७ करोड ८५ लाख र फ्रिक्वेन्सी शुल्क २ अर्ब २५ करोड ९२ लाख रुपैयाँ बुझाएको एनसेलको तथ्यांक छ ।

एनसेलले मुलुकभरि १ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको कम्पनीको तथ्यांक छ ।

Yangle News