ऐतिहासिक पदक विजेता एरिकालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

Yangle News
Yangle News
२०८२ जेष्ठ २० गते
ऐतिहासिक पदक विजेता एरिकालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

कराते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छन् ।

एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूहअन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन् । यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन् । सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छन् ।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन् । उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।