विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

Yangle News
Yangle News
२०८२ कार्तिक १ गते
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

युएईमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय श्रृखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुकमार्फत १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

टी-ट्वान्टी राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् ।

२६ अक्टोबर देखि सुरु हुने श्रृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । शृंखला नोभेम्बर ६ सम्म चल्नेछ । लिग-२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

Yangle News