जनमत पार्टीका वरिष्ठ पदाधिकारीसहितका नेताहरूले अध्यक्ष डा. सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक रूपमा हस्ताक्षरित पत्रमार्फत पार्टीमा नेतृत्व परिवर्तनको माग गरेका हुन् । उनीहरूले पार्टीलाई सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यसहित नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।’
नेताहरूको दाबी अनुसार, जेनजीले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको थियो । त्यस आन्दोलनले सत्तारुढ गठबन्धन, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल तथा शीर्ष नेताहरूको अकर्मण्यता र अनियमितताविरुद्ध गम्भीर प्रश्न उठाएको पनि उनीहरूको भनाइ छ ।
तर, पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावनासँग विमुख गतिविधि देखिएको भन्दै ती नेताहरू असन्तुष्ट देखिएका छन् । जनताको अपार समर्थनले पार्टीलाई राष्ट्रिय मान्यता दिलाएको भए पनि नेतृत्व परिवर्तन नगरे सशक्त संगठन निर्माणमा बाधा पुग्ने उनीहरूको चेतावनी छ । पार्टीभित्रको यो खुला असहमति र अल्टिमेटमले जनमत पार्टीमा गम्भीर संगठनात्मक संकट उत्पन्न हुन सक्ने संकेत देखिएको छ ।