थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ ।
आज अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले टोलीलाई बिदाइ गरेका हुन् । नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी उतैबाट थाइल्याण्ड जाने एन्फाले जनाएको छ । त्यस्तै, युएईको क्लबमा आवद्ध रेखा पौडेल पनि युएईबाटै थाइल्याण्ड पुग्नेछिन् ।
नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ ।
रक्षकः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई ।
मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुस्मा तामाङ ।
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल ।