निर्वाचन पर्यवेक्षणसम्बन्धी संस्थाहरुले प्रतिनिधि सभाको चुनावमा आचारसंहिता उल्लंघनका घटना अत्यधिक भएको निष्कर्ष निकालेका छन् । निर्वाचन आयोगले चुनाव तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भए पनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् ।
यो चुनावमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ ।
आमनिर्वाचन पर्यवेक्षण समिति (जीओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाललगायत संस्थाहरुले आज पत्रकार सम्मेलन गरी राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उल्लंघनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।
जीओकका महासचिव कृष्णमान प्रधानले पर्यवेक्षण संस्थाहरुलाई राजनीतिक दल र उम्मेदवारले आचासंहीताको सही रूपमा पालना गर्छन् भन्ने विश्वास अझै नरहेको बताए । उनले निर्वाचन आयोगप्रति पनि आमनागरिकको विश्वास पूर्ण रूपमा हुन नसकेको जिकिर गरे । दल दर्ता, मुद्दा दर्ता र आचारसंहिता पालना गर्ने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्ने नभइ कारबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई दिनसक्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।
आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन नसकेको उनले बताए । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
पर्यवेक्षण गर्ने संस्थाहरुले निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि चुनाव अघि र मतदानको समयमा आचारसंहिताको पूर्ण पालना हुनुपर्ने तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।