तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत लिग चरणका खेलहरु सकिएको छ । यस संस्करणमा ललितपुर सिटी एफसी, धनगढी एफसी, एफसी चितवन र पोखरा थन्डर्सले प्लेअफमा स्थान बनाएका छन् ।
ललितपुरले लिगको ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक लिएर लिगको शीर्ष स्थानमा रहेको छ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुरले लिग चरणमा अपराजित रहँदै पहिलो क्वालिफायरमा पुरानो प्रतिद्वन्द्वी धनगढी एफसीसँग क्वालिफायरमा भेट पक्का गरेको हो । लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो संस्करणको फाइनलमा पनि ललितपुरसँगै भिडेर नतिजा र उपाधि सुम्पेको धनगढीले लिग चरणका ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित धनगढीले ११ अंकसहित शीर्ष २ मा रहेको छ ।
अन्तिम खेलमा धनगढी एफसीलाई हराउँदै एफसी चितवन पहिलोपटक प्लेअफ पुगेको हो । उक्त खेलमा चितवन हारेको भए काठमाडौं प्लेअफ पुग्ने समीकरण थियो ।
पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनीलाई पराजित गर्दै प्लेअफ यात्रा तय गरेको हो । लिग चरणको ६ खेलमा २ जित, २ हार र २ बराबरी खेल्दै पोखराले ८ अंक जोडेको छ ।
बिहीबार लिग चरणको अन्तिम खेलमा एफसी चितवनले धनगढी एफसीलाई ३-१ पराजित गर्दै प्लेअफ पुगेपछि शिर्ष ४ को पनि समीकरण पूरा भएको हो । शिर्ष ४ को समीकरणले क्वालिफायर र एलिमिनेटर खेलका प्रतिस्पर्धी पनि टुंगो लागेको छ ।
शीर्ष स्थानमा रहेको साविक विजेता ललितपुर सिटीले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टिमले पनि फाइनलमा स्थान बनाउने मौकास्वरुप दोस्रो क्वालिफायर खेल्नेछ ।
अंकतालिकाको तेस्रो स्थानमा रहेको एफसी चितवन र चौथो स्थानमा रहेको पोखरा थन्डर्सले एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेता टिमले पहिलो क्वालिफायरमा हार व्यहोर्ने टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेता र पहिलो क्वालिफायरको विजेताले वैशाख १३ गते उपाधिका लागि भिड्नेछन् ।
सहभागीमध्ये बुटबल लुम्बिनी एफसी, झापा एफसी र काठमाडौं रेजर्स भने लिग चरणबाटै बाहिरिइसकेका छन् ।