दैनिक १५ सय अग्रिम अनलाइन फाराम खुलाउँदै राहदानी विभाग

Yangle News
Yangle News
२०७९ माघ १६ गते
दैनिक १५ सय अग्रिम अनलाइन फाराम खुलाउँदै राहदानी विभाग

राहदानी विभागले आज सोमबारदेखि लागू हुनेगरी एक महिनाका लागि प्रत्येक दिन १५ सयका दरले अग्रिम अनलाइन फारम खुलाएको छ । विभागले यसरी अग्रिम अनलाइन फारम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षासमेत गरेको छ ।

आइतबार एक सूचना जारी गरी विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूलाई पनि अग्रिम अनलाइन फारम खोल्न अनुरोध गरेको छ ।

विभागले यसरी काम गर्दा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० देखि १२ दिन, तराईका जिल्लाहरूमा १२ देखि १५ दिन, पहाडका जिल्लाहरूमा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशस्थित नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्न सकिने जनाएको छ ।