अमेरिकी सरकारले चिनिया प्रविधि कम्पनी ह्वावेलाई अधिकांश सामान निर्यातका लागि आवश्यक अनुमतीमा रोक लगाउन लागेको हो ।
बाइडन सरकारले चीनलाई अमेरिकी प्रविधि निर्यातमा आफ्नो नियममा कडाइ गरिरहेकै बेला यो कदम चालेको हो ।
अमेरिकाले ह्वावेलाई यसअघी अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको र चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर काम गरेको आरोप लगाउँदै आएको थियो । तर ह्वावेले र चीन सरकारले भने पटक–पटक उक्त आरोपको खण्डन गर्दै आएका छन् ।
अमेरिकी वाणिज्य विभागले केही अमेरिकी कम्पनीहरूलाई ह्वावेलाई अमेरिकी प्रविधि निर्यातका लागि अब लाइसेन्स जारी नगर्ने बताएको फाइनान्सियल टाइम्सले जनाएको छ ।
अमेरिकाले चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकी प्रविधिको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने दिशामा अघि बढिरहेका बेला यो कदम चालिएको समाचारमा उल्लेख छ ।
अमेरिकी वाणिज्य विभागका प्रवक्ताका अनुसार, “ऊर्जा, रक्षा र राज्य विभागका हाम्रा अन्तरनिकाय निर्यात नियन्त्रण साझेदारहरूसँग मिलेर काम गर्दै हामी निरन्तर हाम्रा नीति र नियमहरूको मूल्यांकन गर्छौं र बाह्य सरोकारवालाहरूसँग नियमित रूपमा संवाद गर्छौं। ‘हामी कुनै खास कम्पनीसँग भएको कुराकानी वा छलफलबारे कुनै टिप्पणी गर्दैनौं,’ उनीहरूले भने ।
यता ह्वावेले भने उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
विश्वका अधिकांश कम्प्युटर चिप्स उत्पादन गर्ने ताइवानलाई लिएर अमेरिका र बेइजिङबीच राजनीतिक तनाव बढेपछि बाइडेन प्रशासनले हुवावेमाथिको प्रतिबन्धलाई कडाइ गर्दै आएको छ ।
गत अक्टोबरमा अमेरिकी उद्योग तथा सुरक्षा उपमन्त्री एलन एस्टेभेजले ‘खतराको वातावरण सधैं परिवर्तन भइरहने’ बताएका थिए ।
“हामी हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न र सैन्य अनुप्रयोगहरूको साथ संवेदनशील टेक्नोलोजीहरू जनवादी गणतन्त्र चीनको सेना, गुप्तचर र सुरक्षा सेवाहरूले अधिग्रहण गर्नबाट रोक्नको लागि हामी सबै कुरा उचित रूपमा गरिरहेका छौं,” उनले भने।
शेन्जेनस्थित ह्वावेले केही वर्षदेखि उच्च गतिको फाइभजी दूरसञ्चार उपकरण र आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीका लागि अमेरिकी निर्यात प्रतिबन्धको सामना गर्दै आएको छ ।
सन् २०१९ मा डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकी अधिकारीहरूले उक्त कम्पनीलाई तथाकथित इकाई सूची (एन्टिटी लिस्ट) मा समावेश गरेका थिए ।
यसको मतलब अमेरिकी कम्पनीहरूले केही प्रविधिहरू निर्यात गर्न वा हस्तान्तरण गर्नु परेमा सरकार बाट इजाजतपत्र लिनुपर्दछ।
तर, त्यतिबेला इन्टेल र क्वालकमलगायत केही अमेरिकी कम्पनीहरुलाई भने ह्वावेबाट फाइभजीसँग सम्बन्धित नभएका प्रविधिक सामानहरू आपूर्ति गर्न लाइसेन्स दिइएको थियो ।