नेपाल टेलिकमले आजबाट काठमाडौंको विभिन्न स्थानबाट फाइभजी परिक्षण सुरु गर्ने भएको छ । आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आज नेपाल टेलिकमले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाचौं पुस्ताको फाइभजी परिक्षण उद्घाटन हुने भएको हो ।
यस अघि टेलिकमले गत अग्रेजी नयाँ बर्ष २०२३बाट फाइभजी परिक्षण गर्ने भनेपनि प्राविधिक कारणले गर्न सकेको थिएन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परिक्षण अनुमति दिएको झण्डै दुई बर्ष पछि फाइभजीको ट्रायल हुँदै छ । कम्पनीले आन्तरिक परीक्षण सुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन नपाउने भएका छन् । फाइभजीका लागि उपलब्ध मोबाइल उपकरणहरूको इकोसिस्टम तयार भइनसकेको भन्दै तत्कालै सर्वसाधारणलाई परीक्षणकालीन सेवा नहुने बताइएको छ। तर आइतबारदेखि सुरु हुने फाइभजीको ‘रियल टेस्टिङ’ सेवा कम्पनीका सीमित कर्मचारीलाई मात्र उपलब्ध हुनेछ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभजी परिक्षणको लागि २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।
उक्त फ्रिक्वेन्सीमा आधारित भएर फाइभजी सेवा परीक्षण सुरु गर्ने भएको हो । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ,जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।
टेलिकमले काठमाडौंमा फाइभजीको औपचारिक परिक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परिक्षण गर्ने तयारी गरेको छ ।
हाल देशभरका अन्य ठूला शहरकापनि फाइजी परिक्षण गर्ने टेलिकमले उपकरण टेस्टिङ गरिरहेको छ ।