अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग

Yangle News
Yangle News
२०८२ मंसिर ७ गते
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले आइतबार अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो । कात्तिक १६ गतेको सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बोलाएर अदालतको आदेशको अवहेलना गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सरकारले चीन, अमेरिका, बेलायत लगायत ११ देशका राजदूतलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि सर्वोच्चले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसको भोलिपल्टै सरकारले राजदूतहरूलाई नेपाल बोलाएर परराष्ट्र मन्त्रालयबाटै काम गर्न भन्दै पत्र पठाएको थियो ।

फिर्ता बोलाइएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित ( इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) छन् । उनीहरूलाई कांग्रेस-एमाले सरकारको पालामा नियुक्त गरिएको थियो ।

फिर्ता बोलाइएका राजदूतहरुमध्ये केहीले राजीनामा दिएका छन् । बाँकीका लागि भने सरकारले परराष्ट्र मन्त्रालयमा हाजिरीको व्यवस्था गरिदिएको छ ।