प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न भन्दै नेकपा एमालेले शनिबार देशैभर जनसभा आयोजना गरेको छ । ‘संविधानको रक्षा र प्रतिगमन’विरुद्ध भन्दै एमालेले देशभर शक्ति प्रदर्शन गरेको हो ।
काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका अन्य जिल्लामा भएको प्रदर्शनमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । जनसभाअघि जिल्ला सदरमुकाममा र्याली निकालिएको थियो । भदौ २३ र २४ को घटनापछि राजनीतिक दलहरूका गतिविधि शिथिल भएको बेला एमालेले एकै दिन देशभर प्रदर्शन गरेको हो ।
सभामा सम्बोधन गर्ने नेताहरूले अहिलेको राजनीतिक संकटको निकासका लागि प्रतिनिधिसभाको पुनःस्थापना नै एकमात्र विकल्प रहेको बताएका छन् । सरकार चुनाव गराउने दिशामा नरहेको तथा चुनावको वातावरण नरहेकोले संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठनमार्फत चुनावमा जानु पर्ने नेताहरूको भनाइ छ ।
महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गरेका छन् । उनले भदौ २४ को प्रतिक्रान्ति पछि नेकपा एमाले शुरूमा सडकमा आएको बताए । रुपन्देहीको बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै सचिव छविलाल विश्वकर्माले देशलाई संवैधानिक मार्गमा फर्काउने विकल्प प्रतिनिधिसभा पुनःस्थापना भएको बताए ।
केपी ओलीको गृहजिल्ला झापामा आयोजित सभालाई सचिव पद्मा अर्यालले सम्बोधन गरेकी छन् । गुल्मीमा भएको जनसभालाई भर्खरै एमालेमा फर्किएकी रामकुमारी झाँक्रीसहित ३ केन्द्रीय नेताले सम्बोधन गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले सम्बोधन गरे ।सभालाई सम्बोधन गर्दै झाँक्रीले सरकारको नेतृत्वले राष्ट्रियताको पक्षमा अडान लिएपछि अकल्पनीय घेराबन्दी र प्रहार शुरू भएको बताइन् ।
चितवनको सभालाई उपाध्यक्ष रामबहादुर थापा लगायतले सम्बोधन गरेका थिए । लमजुङमा भएको जनसभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।