छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

Yangle News
Yangle News
२०८२ कार्तिक १० गते
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् ।

व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार ग्रहण गर्ने गर्छन् ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई मधेश र काठमाडौं उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पहिले पहिले तराईमा मात्रै सीमित छठ पूजा पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकासहित पहाडमा पनि धुमधामले मनाउन थालिएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल आज काठमाडौंको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गरेका छन् । उनले गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका छन् ।

छठ पर्वका अवसरमा राष्ट्रपतिले हरेक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ । तर यस वर्ष भने राष्ट्रपति गुह्वेश्वरीमा मात्रै गएका हुन् ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् ।