लगातार दुई जितपछि नेपाल ‘काभा भलिबल च्याम्पियनसीप-२०२६’को सेमिफाइनलमा प्रवेश

Yangle News
Yangle News
२०८३ जेष्ठ १० गते
लगातार दुई जितपछि नेपाल ‘काभा भलिबल च्याम्पियनसीप-२०२६’को सेमिफाइनलमा प्रवेश

नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।

नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पार्‍यो भने खेलको दोस्रो सेट २५-९ ले जित्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५-२० को जित निकाल्यो ।

यो जितसँगै तीन खेल खेलेको नेपालको सात अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।

त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको पाँच अंक छ । त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अंक छ भने माल्दिभ्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ । त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुंगो लाग्नेछ ।

त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् । कजाखस्तानले बंगलादेशलाई ३-० सेटमा हराउँदा इरानले श्रीलंकालाई पनि ३-० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलंका र बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

Yangle News