प्रेस काउन्सिल नेपालले भ्रामक र अपुष्ट सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई निर्देशन दिएको छ ।
काउन्सिलले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै कुनै व्यक्ति वा संस्थाको ख्यातिमा असर पार्ने खालका तथ्यहीन, आधारहीन, अपुष्ट आरोप लगाई व्यावसायिक छविलाई धुमिल्याउने गरी मिथ्या/भ्रमपूर्ण सामग्री सम्प्रेषण हुने गरेको पाइएको जनाएको छ । ‘त्यस्ता अपुष्ट सामग्रीलाई यथेष्ठ तथ्य प्रमाणवेगर भ्युअर बढाउने उद्देश्यले सामाजिक सञ्जालबाट सेयर गर्ने वा अन्य सञ्चार माध्यममा आएका सामग्रीको तथ्यगत परीक्षण समेत नगरी छोटो भिडियो बनाइ रिल, पेजबाट सम्प्रेषण गर्ने गरेको गुनासा आएका र त्यस्ता प्रवृत्ति अनुगमनबाट समेत देखिएको छ’, काउन्सिलले भनेको छ ।
काउन्सिलले प्रेस स्वतन्त्रता कायम राख्दै जिम्मेवार, विश्वसनीय र आचारसंहिताअनुरूप पत्रकारिता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् अपुष्ट तथा भ्रामक सामग्री सम्प्रेषण भइरहेको र यस्ता सामग्रीले पत्रकारिताको विश्वसनीयतामा असर पार्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने काउन्सिलको भनाइ छ ।
काउन्सिलले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको सत्यता र विश्वसनीयता परीक्षण गर्नुपर्ने जनाएको छ । साथै, सामाजिक सञ्जालमार्फत् गालीगलौज, धम्की र मानहानी गर्ने प्रवृत्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने स्पष्ट पारेको छ ।
युट्युब, टिकटकलगायत डिजिटल माध्यममार्फत् अपुष्ट सामग्री फैलाउने तथा अतिरञ्जित प्रस्तुति गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले ध्यानाकर्षण गराएको छ । ‘त्यसैगरी पश्चिमका बाँके, प्युठान, दाङ, अर्घाखाँची, कैलाली लगायत केही जिल्लाका सरकारी कार्यालय एवं सार्वजनिक निकायमा क्यामरा लिएर गइ भिडियो खिच्न शुरू गर्ने, कार्यालय प्रमुख, लेखा प्रमुखसँग बुम तेर्स्याएर प्रश्न सोध्ने र अन्तिममा सन्देशमुलक सूचना लेखेको बिल छाड्ने, कार्यालयसँग सम्झौता नगरी आफैं सम्झौताको ड्राफ्ट तयार गरी आफूले दस्तखत गरी कार्यालयमा बुझाउने गरेको गुनासो समेत प्राप्त भएको छ । सञ्चार माध्यमबाट हुने यस्ता किसिमको प्रवृत्ति/कियाकलापप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ’, काउन्सिलले भनेको छ ।
यसैगरी, केही सञ्चारमाध्यममा प्रकाशित सामग्रीका विषयलाई लिएर पत्रकार/सञ्चारकर्मीलाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, धम्की दिने गरेको समेत भेटिएको काउन्सिलको भनाइ छ ।
विज्ञप्ति :