क्रिस्टियानो रोनाल्डोले आगामी फिफा विश्वकप आफ्नो लागि अन्तिम हुने घोषणा गरेका छन् । यद्दपि, आगामी फिफा विश्वकपमा पोर्चुगल अझै छनोट भइसकेको छैन ।
फिफा विश्वकपको २३औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ । ‘मेरा लागि सन् २०२६ को विश्वकप अन्तिम हुनेछ । त्यसपछिको विश्वकपमा म उपस्थित हुने छैन,’ ४० वर्षीय पोर्चुगिज स्ट्राइकर रोनाल्डोले भनेका छन् ।
रोनाल्डो आफ्नो राष्ट्र र क्लबहरुका लागि नौ सय ५३ गोल गर्ने खेलाडी हुन् । उनले आगामी एक-दुई वर्षभित्र सक्रिय खेल जीवनबाट समेत सन्न्यास लिने पनि बताएका छन् । तर, उनले सन्न्यासको निश्चित समय भने खुलाएका छैनन् ।
रोनाल्डोले हालसम्म पाँचवटा विश्वकप खेलिसकेका छन् । आगामी विश्वकप उनको छैटौं हुनेछ । उनी हाल साउदी अरेबियन क्लब अल-नासरबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरिए क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै अब्बल प्रदर्शन गरिसकेका छन् ।
रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले हालसम्म एक सय ४३ गोल गरेका छन् ।