भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा, निजी क्षेत्रबाट पनि सहयोग घोषणा

Yangle News
Yangle News
२०८० कार्तिक १८ गते
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा, निजी क्षेत्रबाट पनि सहयोग घोषणा

 

सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए । टेलिकमले विज्ञप्ति जारी गरि उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको जनाएको हो ।

यसैबीच, भूकम्प पीडितका लागि कोशी प्रदेशले १ करोड रुपैयाँ र राहत सामग्री उपलब्ध गराउने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन् ।

यस्तै, बुद्ध एयरले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरि बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ ।