विद्यालयमा हिउँदे र बर्से बिदा घटाउन परिपत्र

Yangle News
Yangle News
२०८३ बैशाख २९ गते
विद्यालयमा हिउँदे र बर्से बिदा घटाउन परिपत्र

सातामा दुई दिने बिदा निर्णयलाई ध्यानमा राखेर सरकारले स्कूलमा हिउँदे र बर्से बिदा घटाउन परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको हो । केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्य पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको बिदा दिन भनिएको छ ।

दुई दिने बिदाले गर्दा पाठ्यक्रमले तोकेअनुसारको कार्यघण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न ६ बुँदे निर्देशन दिइएको छ । ‘प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने,’ पत्रमा भनिएको छ ।

त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ । यससँगै हिउँदे र बर्से बिदाको अवधि ३० दिन कायम गर्न पत्राचार गरिएको छ । यसअघि हिउँदे र बर्से बिदा ४५ दिन हुने गरेको थियो ।

यससँगै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्नेगरी व्यवस्थापन गर्न भनिएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिनलाई उपयोग गर्न सुझाइएको छ ।

पत्र :

Yangle News