नेपाली कांग्रेसले संविधान संशोधनबारे अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । उपसभापति पुष्पा भुसाल संयोजक रहेको समितिलाई पूर्णता दिइएको हो ।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितकुमार बस्नेत सदस्य छन् ।
अधिवक्ताहरू रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि यो समितिका सदस्य छन् । अधिवक्ता राजु कटुवाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
समितिले पाँचबुँदे ‘म्यान्डेट’ पाएको छ । समितिले विभिन्न समुदाय, समूह, क्षेत्रबाट पहिचानलगायत विषय, आन्दोलन, त्यस क्रममा सरकारले गरेका सम्झौता, संविधान संशोधनबारे राखिएका माग र धारणाबारे अध्ययन र विश्लेषण गर्नेछ ।