असनमा तुलाधर समुदायको खड्ग जात्रा, आसुरी शक्तिमाथि विजयको सन्देश

Yangle News
Yangle News
२०८३ कार्तिक ५ गते
असनमा तुलाधर समुदायको खड्ग जात्रा, आसुरी शक्तिमाथि विजयको सन्देश

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा खड्ग जात्रा मनाएका छन् ।

काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतिकात्मक रूपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनुका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको स्थानीयले जनाएका छन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् ।

Yangle News

Yangle News

Yangle News

Yangle News