रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच भएको एकता भंग भएको छ । यी दुई दलले दुई साताअघि ७ बुँदे सहमति गर्दै एकता गरेका थिए ।
उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले रास्वपाले एकतर्फी रूपमा एकता भङ्ग गरेको दाबी गरेका छन् । शनिबार साँझ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले एकतर्फी रूपमा एकता भंग गरेको बताएका हुन् । ‘उहाँहरूले एकतर्फी रूपमा एकता भङ्ग गर्नुभयो,’ उनले भने, ‘हाम्रा मागहरू पनि केही थिएनन्, साथीहरूले पनि चित्त बुझाउनु भएकै थियो । तर एकता कायम राख्न सकिएन ।’
पुस १४ गते लिखितमा मात्रै नभएर मौखिक सहमति पनि भएका उनले बताए । ‘एकीकरण प्रक्रियालाई कसरी कार्यान्वयन गर्ने भन्ने धेरै अलिखित सहमति थिए । त्यो सहमतिमा हाम्रो कुनै ठूलो किसिमको माग पनि थिएन । छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउ भन्ने हाम्रो माग थियो, तर सम्भव भएन,’ उनले भने ।
अब पार्टीले बलेको चिम चुनाव चिह्नबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । बैठकबाट अध्यक्ष पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय पनि गरिएको पनि जानकारी गराइएको छ ।