पोखरा थन्डर्सलाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भए पनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो ।
पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।
७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो । जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए । बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ ।