‘मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्’

Yangle News
Yangle News
२०८२ चैत्र २७ गते
‘मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्’

सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुराको जानकारी दिएका हुन् ।

प्रवक्ता पौडेलले त्यस क्षेत्रमा उत्पन्न तनावका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि सरकारले हवाई उडानको आवश्यक व्यवस्था मिलाएको बताए । मन्त्रालयका अनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरू कतै पनि अप्ठ्यारोमा परेका छैनन् । नेपाल आउन चाहने नेपालीलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायतका विमानबाट स्वदेश फर्काउने काम भइरहेकाले कुनै समस्या देखिएमा पनि त्यसको तत्काल समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।

प्रवक्ता पौडेलले भने, ‘अहिले पश्चिम एसिया क्षेत्रमा कहीँ पनि नेपाली नागरिक ट्रान्जिटमा रहनुभएको भन्ने जानकारी छैन । हाम्रा दूतावास, नियोगहरू र हटलाइन प्रणालीको पछिल्लो तथ्याङ्क हेर्दा त्यस्तो अवस्था देखिएको छैन । हवाई आकाश खुलेसँगै नेपाल आउन चाहनेहरूका लागि सहज वातावरण सिर्जना भएको छ ।’

उनले माननीय परराष्ट्र मन्त्रीको पहलमा नेपाली हवाई सेवा प्रदायकसँगको समन्वयमा उडान सुरु भइसकेकाले देखिएका सामान्य समस्या पनि छिट्टै समाधान हुँदै जाने बताए । स्वदेश फर्कन चाहने नेपालीको हवाई उडानमा सहजीकरण गर्न सरकारले विशेष पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।