महिला दृष्टिविहीन टी-ट्वान्टी विश्वकपमा नेपालको विजयी सुरुवात

Yangle News
Yangle News
२०८२ कार्तिक २६ गते
महिला दृष्टिविहीन टी-ट्वान्टी विश्वकपमा नेपालको विजयी सुरुवात

महिला दृष्टिविहीन टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आज आफ्नो पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको हो ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो । श्रीलंकाली टोलीले अतिरिक्त रूपमा ४१ रन पाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ५.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि विनिता पुनले १३ रन बनाइन् । पहिलो विकेटका रूपमा उनी आउट हुँदा नेपालले दुई ओभरमा ३२ रन बनाएको थियो । नेपाली टोलीको जीतमा मनकेशरी चौधरीको योगदान महत्त्वपूर्ण रह्यो । ओपनर ब्याटर मनकेशरीले अविजित ६० रनको योगदान गरिन् । उनले केवल १७ बलमा आफ्नो अर्धशतक पूरा गरेकी थिइन् ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल कार्तिक २८ गते आयोजक भारतसँग बेंगलुरुमा खेल्नेछ । नेपाली टोलीले कार्तिक २९ गते इंग्ल्याण्डसँग बेंगलुरुमै आफ्नो तेस्रो खेल खेल्नेछ । नेपालले आफ्नो चौथो खेल यही कात्तिक ३० गते अमेरिकासँग बेंगलुरुमा खेल्नेछ ।

चारवटा खेल भारतमा खेलेपछि नेपाली टोली बाँकी खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोलीले आफ्नो पाँचौँ खेल मंसिर २ गते कोलम्बोमा अस्ट्रेलियासँग खेल्नेछ । आफ्नो छैटौं खेल नेपालले मंसिर ३ गते कोलम्बोमै पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल र फाइनल खेल पनि कोलम्बोमै खेलाइने छ ।

महिला दृष्टिविहीन टी-ट्वान्टी विश्वकपको यो पहिलो संस्करण हो । यो प्रतियोगिता पहिले भारत र नेपालमा आयोजना हुने तय भएको थियो । तर, जेन-जी प्रदर्शनपछि विकसित घटनाक्रम र त्यसबाट सृजित असहज परिस्थितिका कारण नेपालमा खेलाइने खेलहरू श्रीलंकामा सारिएको हो ।

प्रतियोगिता मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इंग्ल्याण्डको सहभागिता रहेको छ ।

Yangle News