प्रधानसेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका अमल्दार राजन रोकायले जितेका छन् । २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाले शनिबार काठमाडौंमा आयोजना गरको प्रधानसेनापति खुला म्याराथनमा सेनाका अमल्दार रोकायले ४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी उपाधि जितेका छन् । उनले तीन लाख रुपैयाँ नगदसहित मोटरसाइकल पुरस्कार हात पारेका छन् । प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो भइ दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भए । हाफ म्याराथनतर्फ पुरुष तथा महिलातर्फका बिजेताले १ लाख रुपैयाँ नगद, मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष, २१ किलोमिटर हाफ म्याराथन , छात्रछात्राका लागि १० किलोमिटर दौड, सैनिक अधिकृत महिला तथा पुरुष १० किलोमिटर लगायतका विधाहरू समावेश गरिएको थियो । भद्रकालीस्थित जंगी अड्डाबाट सुरु भएको म्याराथन विभिन्न स्थान हुँदै पुनः सोही ठाउँमा आएर टुंगिएको थियो ।