रेमिट्यान्स उल्लेख्य वृद्धि, श्रम स्वीकृति लिनेको संख्यामा कमी

Yangle News
Yangle News
२०८२ मंसिर २९ गते
रेमिट्यान्स उल्लेख्य वृद्धि, श्रम स्वीकृति लिनेको संख्यामा कमी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिकसम्म)मा नेपालमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ ।

यस अवधिमा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण वृद्धिदर ९.४ प्रतिशत मात्र रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको कात्तिक महिनामा यस्तो रकम १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८८ करोड डलर पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण वृद्धिदर ८.२ प्रतिशत बढेको थियो ।

यस अवधिमा देशको खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । चार महिनामा खुद ट्रान्सफर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ मात्र थियो ।

वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या भने केही घट्दो देखिएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ रहेको छ । साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिने २ लाख ९४ हजार १०५ जना थिए ।

यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी यस्तो सञ्चिति कात्तिक मसान्तसम्म आइपुग्दा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । यसले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गत आवको असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड डलर पुगेको छ । राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तमा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । गत आवको असार मसान्तसम्म दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति कात्तिक मसान्तमा २५.८ प्रतिशतले वृद्धि भई तीन खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।