नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन : राष्ट्रपति

Yangle News
Yangle News
२०८३ बैशाख १ गते
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प र साधना आवश्यक पर्ने धारणा राखे ।

उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवतहरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताए । ‘हामी नेपालीले नववर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभ साइतका रूपमा लिँदै आएका छौं,’ उनले भने, ‘विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न संकल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ ।’

राष्ट्रपति पौडेलले हालै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गरे । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही संकल्प गर्नुपर्ने उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठ रहने संकल्प गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने, सुशासनप्रति प्रतिबद्ध रहनुपर्ने, समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनुपर्ने तथा जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नयाँ वर्षले संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने संकल्प र सामर्थ्य पैदा गरोस् र नेपालीका बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।