नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
ललितपुर उद्योग वाणिज्य महासंघको ५९औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए ।
उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने बताए । अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनुपर्नेमा जोड दिए ।
‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बडाउन आवश्क छ,’ उनले भने ।
ढकालले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्ने धारणा राखे ।
जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे ।